images

निर्मला पन्त प्रकरणः दोषीलाई कारबाहीमा ल्याउन के गर्दै छन् गृहमन्त्री ?

काठमाडौं–कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पुग्नै लाग्यो । तर, अझैसम्म न त दोषी पत्ता लाग्न सकेको छ न नेताहरूले दोषीलाई कारबाही गर्छौं भन्न नै छाडेका छन् । सत्तामा हुँदा होस या प्रतिपक्षमा निर्मला पन्तको मुद्दा हरेक दलले उठाउँदै आएका छन् । अझ प्रतिपक्षमा रहँदा दोषीलाई किन कारबाही नगरेको भन्नेहरू आफै कारबाही गर्ने ठाउँमा पुगेपछि भने बोली फेर्ने गरेका छन् ।

सञ्चार कर्मबाट राजनीतिमा आएका रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन् । अपराध अनुसन्धान गर्ने र अपराधीलाई कारबाही गराउने जिम्मेवारी पाएको प्रहरी प्रशासन उनकै मातहतमा छ । तर, टेलिभिजनमा कार्यक्रम चलाउँदा सञ्चारकर्मीको हैसियतमा निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै स्टुडियोको बत्ती नै निभाएर साङ्केतिक विरोध गरेको लामिछाने दोस्रो पटक गृहमन्त्री बन्दा पनि यो मुद्दालाई टुङ्गोमा पु¥याउन सकेका छैनन् ।

सत्ताबाहिर रहेका बेला बलात्कारपछि हत्या गरिएकी पन्तको घटनामा संलग्नलाई २ दिनभित्र कानुनको कठघरामा उभ्याउने दाबी गरेका लामिछानेले दुई पटक गृहमन्त्री बन्दा पनि यस विषयलाई टुङ्गोमा पु¥याउन सकेका छैनन् । गठबन्धनको सरकार भएकाले उनीमाथि केही दबाब र बाध्यता होलान् । तर, निर्मलाको हत्यारा पत्ता लगाउन उनलाई के ले रोक्यो रु यो प्रश्न आम नागरिकदेखि सांसदहरूले नै गृहमन्त्री लामिछानेलाई गरिरहेका छन् ।

राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले आफू गृहमन्त्री बन्दा दुई दिन भित्रै निर्मला पन्तका हत्यारा पत्ता लगाउने दाबी गरे पनि अहिलेसम्म सो हुन नसकेको भन्दै प्रश्न गरिन् । उनले भनिन्– ‘म गृहमन्त्री भएको दुई दिनभित्रमा निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन्छु भन्नुहुन्थ्यो तर अहिले गृहमन्त्री नै हुनुहुन्छ । परिणाम किन आएन ?’

पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कुर्सीमा बहाल हुँदै गर्दा लामिछानेले पन्तको न्यायका लागि पहल गर्ने बताएका थिए । लामिछानेको यो आश्वासनपछि पीडित परिवारले उनीमाथि ठुलै भरोसा ग¥यो । तर, अपेक्षाअनुसार उनले नतिजा भने दिन सकेका छैनन् । अहिले उनी दोस्रो पटक गृह मन्त्रालयको नेतृत्वमा छन् । यो घटनाको फाइल कहाँ पुग्यो कुनै अत्तोपत्तो छैन । लामिछाने भने यसअघिकै गृहमन्त्रीले जस्तो बनिबनाउ जवाफ दिएर पन्छिरहेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताए । उनले भने, ‘ निर्मला पन्तको हत्याराबारेको विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छौं । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए । ‘ दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आए जस्तो छ । दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो । त्यो प्राथमिकतामा नै छ ।’ उनले भने ।

यद्यपि लामिछानेले यस घटनामा केही गरेनन् भन्ने होइन । गृह मन्त्रालयमा बहाल भएपछि उनकै निर्देशनमा गत पुस १५ गते प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भएको थियो । त्यसको एक सातामा टोली कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान पनि गरेको थियो ।

तर, विडम्बना अनुसन्धानको नेतृत्व गरिरहेकी सिंहको एक साता नबित्दै सरुवा भयो । प्रहरीले केही मानिसको रगतको नमुना सङ्कलन गरेर काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको थियो । त्यसपछि लामिछानेको पद नै गयो । त्यसपछि यो समितिले निरन्तरता पाउन सकेन ।

अहिले लामिछाने सोही भूमिकामा बहाल छन् । दोस्रो पटक सोही भूमिकामा पुगेका लामिछानेले यो विषयलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । जसले उनीमाथि नै प्रश्न उब्जिएको छ ।