images

बल्ल खुल्यो माओवादीको चेत, सत्ताच्यूत भएपछि जनतालाई सम्झँदै

काठमाडौं । प्रतिनिधिसभामा ३२ सिट रहेको नेकपा माओवादी केन्द्रले पालैपालो पहिलो र दोस्रो दलको समर्थनमा १८ महिना सरकारको नेतृत्व ग¥यो । अहिले पहिलो र दोस्रो दल कांग्रेस–एमाले एकै ठाउँमा उभिँदा माओवादी केन्द्र सङ्घीय सरकारदेखि प्रदेशसम्मै प्रतिपक्षी बेन्चमा पुगेको छ । शीर्ष नेताहरू सत्ताको स्वादमा रुमलिँदा पार्टी भने झनझन कमजोर बनेको छ । सत्तामा हुँदा पार्टीको सङ्गठनलाई बेवास्ता गरेको माओवादी केन्द्रको नेतृत्व अहिले भने सङ्गठन सुधारमा लागेको छ ।

समकालीन नेताहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चतुर नेताको रूपमा चिनिन्छन् । शक्तिमा पुग्न विभिन्न तिकडम जानेका दाहाल अहिले पनि पछारिएका छन् । संसदीय राजनीतिमा आएपछि दाहाल सत्ता र शक्ति यति केन्द्रित भए कि पार्टी झनझन कमजोर बन्दै गएको पनि भेउ पाएनन् वा बेवास्ता गरे । स्थापना कालदेखि नै दाहालको नेतृत्वमा रहेको माओवादी कुनै बेला सांसदकै ठुलो शक्ति थियो । अहिले अस्थित्व जोगाउनै हम्मे हम्मे पर्ने अवस्थामा आइपुगेको छ । सत्ताका लागि आफैले बनाएको समाजवादी मोर्चामा आबद्ध जसपा नेपाल फुटाएको आरोप लागेका दाहाल अहिले फेरि शक्ति आर्जनका लागि मोर्चा खोज्दै छन् । अर्कोतर्फ मोर्चामा आबद्ध अर्को दल एकीकृत समाजवादीले पनि सत्तामा रहँदा दाहालले पटक–पटक धोका दिएको गुनासो गर्दै आएको छ । सहयोगी दललाई धोका दिएको आरोप बोकेका दाहाल सत्ताको स्वादमा रुमलिँदा पार्टीको आन्तरिक गतिविधि पनि ठप्प प्राय भयो । जसका कारण लथालिङ्ग भएको सङ्गठनलाई चलायमान बनाउन माओवादी केन्द्र लागिपरेको छ ।

विगत १८ महिना कांग्रेस र एमालेलाई पालो पालो धोका दिएको माओवादी अहिले आफै किनारा लागेको छ । २०७९ पुसमा एमालेसँग गठबन्धन गरेको माओवादीले एक महिनामा नै एमालेसँगको सहयात्रा तोड्दै काँग्रेससँग कुम जोडेको थियो । गत फागुन २१ मा काँग्रेससँगको यात्रामा विराम लगाउँदै माओवादीले फेरी एमाले सँग सत्ता सहकार्य गरेको थियो । गत असार १७ गते राति कांग्रेस र एमालेबिच सत्ता सहकार्य गरेर अघि बढ्ने सहमति भएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । सत्तामा हुँदा लामो समयदेखि माओवादीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न सकेको थिएन । सत्ता गुमेपछि माओवादीका नेताहरुलाई बल्ल पार्टीका लागि फुर्सद भएको छ । पार्टीको धरातल कमजोर बन्दै गएपछि माओवादी फेरी आफ्नो साख जोगाउन लागेको विश्लेषण भइरहेको छ ।

शान्ति प्रक्रियापछि हतियार बिसाएर संसदीय राजनीतिमा आएको माओवादी लामो समय सत्ताकै वरिपरि रह्यो । २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा संसद्को सबैभन्दा ठुलो दल बनेको माओवादी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चियो । अहिले संसद्को तेस्रो दलको हैसियतमा रहे पनि माओवादीको जनमत भने कमजोर बन्दै गएको छ । व्यवस्था परिवर्तनका लागि हतियार उठाएका माओवादी केन्द्रका नेताहरू संसदीय राजनीतिमा आएसँगै सत्ता भोगी हुँदा त्यसको क्षति पार्टीले बेहोरिरहेको छ । सत्ताबाट बाहिरिएसँगै माओवादी केन्द्र आफ्नो साख फर्काउने प्रयासमा छ ।