काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनको मोडालिटी परिवर्तन गरेको छ । सडक संघर्षमा नगई पछिल्लो विद्यमान अराजकताविरुद्ध जनताको मन जित्ने गरी अघि बढ्ने उसको तयारी रहेको छ । जनताले छोटो अवधिमा रुचाएर संसदमा २१ सिट दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी दिनमा फरक रणनीति अख्तियार गर्ने भएको छ । स्वभावैले सभापति रवि लामिछानेमाथि देखिएको जनताको विश्वास र मायाको टेकोले राजनीतिक यात्रालाई बलियो दिशामा लैजान सफल भएको रास्वपाका लागि अबका दिन केही चुनौतिपूर्ण देखिएका छन् । पछिल्लो समय राजनीतिक रुपमा समेत मापक बन्दै गएको सामाजिक सञ्जालमा रास्वपाप्रतिको विश्वास डगमगाएको देखिदैन । राज्यबाट हुने बेलाबखतका असमान व्यवहारप्रति जनताको आक्रोश जिवितै रहेको पाइन्छ । यो घडीमा रास्वपाले आफूलाई कन्ट्रोल गर्न खोजेको देखिएको छ । सभापति लामिछाने पक्राउपछि आन्दोलित बनेको रास्वपाले आगामी दिनका लागि त्यसको मोडालिटी परिवर्तन गर्नुलाई राजनीति परिपक्वताका रुपमा चित्रण गर्न थालिएको छ ।
््
रास्वपामा विचलन आउन थालेको भन्दै पार्टीभित्रैबाट प्रश्न उठेपछि पछिल्लो समय बसेको बैठकले जनताका मुद्धा उठाएर सहकारी पीडितको रकम असुली गराउनका निम्ति सरकारलाई दबाब दिने निर्णय गरेको छ । लामिछाने पक्राउपछि देखिएको दृष्यमा भित्रभित्रै रास्वपाको आन्दोलनप्रति धेरै प्रश्न उठाएका थिए । प्रतिशोधको राजनीतिबाट आफ्नो सभापति सिकार भएको आंकलन गरेको रास्वपा त्यो अवधिमा विवेकपूर्ण निर्णय गर्नमा चुकेको उसकै समर्थकहरु बताउँदै आएका थिए । विशेषगरी लामिछानेको जनप्रेमको कसीमा उभिएको रास्वपाले उहीँ व्यक्ति हिरासतमा जाँदा देखाएको व्यक्तिगत सदासयता पार्टी हीतमा भने कमजोर बनेको निष्कर्ष निकालेको छ ।
लामिछाने स्वयंले पनि पत्रकारिताको क्षेत्रमा हुँदा दिएका अभिव्यक्ति र क्रियाकलापले पार्टीमाथि प्रश्न उठेका थिए । हुनत, संसदीय अंकगणित मिलुञ्जेलसम्म विभिन्न पार्टीका शीर्ष नेताको बोलीबाट क्लिन चिट पाएका लामिछाने पछिल्लो दुईदलीय गठबन्धनको तारो बनेको चर्चा हुने गरेको छ । यद्यपि आफूमाथि लागेको आरोपमाथि छानबिनका लागि उनले मार्ग प्रशस्त गरेका छन् ।