images

१५ चैतसम्म चल्ने गरी संसदीय क्यालेन्डर तयार, आइतबारको सम्भावित कार्यसूची पनि तय

काठमाडौं आगामी १५ चैतसम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । १५ दिनमा ७ दिन बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ । कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार ३ चैत आइतबार पहिलो बैठक बस्नेछ । त्यसपछि ४, ६ र ७ चैतमा बैठक बस्नेछ । ७ चैतपछि एक साता बैठक स्थगित हुनेछ । त्यसपछि १३, १४ र १५ चैतमा बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ ।

आइतबार प्रतिनिधिसभामा शून्य समय, विशेष समय चल्नेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव क्रमशः प्रस्तुत हुनेछ ।

४ चैतमा शून्य समय, आकस्मिक/शून्य/विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल हुनेछ ।

४ चैतमा नै यी दुई विधेयक पारित गर्ने तयारी छ । ६ चैतमा पनि शून्य समय, आकस्मिक शून्य/विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल र पारित गर्ने कार्यसूची पनि सोही दिनका लागि राखिएको छ ।

७ चैतमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर हुनेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण पहिलो संशोधन विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार विधेयकमाथि प्राप्त संशोधन सहित सदनमा दफावार छलफल र पारित गर्ने कार्यसूची छ ।

१३ चैतमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।

१४ चैतमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पटाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिँदै छ ।

१५ चैतमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।

संसद्ले प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ ।