images

कृषकका लागि छुट्टाएको बजेटमा पहुँचवालकै हालीमुहाली

मोरङ– कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन भन्दै राज्यकोबाट वर्षेनी ठुलो रकम विनियोजन हुने गरेको छ । कृषकलाई सहज होस् भनि सो रकम अनुदान र राहत प्याकेजमा पनि उत्तिकै खर्चिने गरिन्छ । तर त्यो अनुदान भने वास्तविक कृषकको हात लाग्न सकेको छैन । कृषकका लागि छुट्ट्याइएको बजेटमा पहुँचवालाकै हालीमुहाली चल्ने गरेको छ ।

कृषि ज्ञान केन्द्र मोरङले विगत ३ वर्ष देखि कृषकहरूलाई चैते धान वाली, मकै, सनपाट खेती लगायत अन्य बाली लगाउन प्रोत्साहन स्वरूप प्रति कट्टा ५ सय रुपैयाँको दरले अनुदान दिँदै आइरहेको छ । रङेली नगरपालिका वडा नम्बर ३, ६, ८ र ९ का कृषकहरू दिइँदै आएको उक्त अनुदान नेताका आफन्त र नजिकका मान्छेले मात्र पाउने गरेको सोही ठाउँका कृषकको गुनासो छ । ३ वर्षदेखि नातावाद र कृपावादका आधारमा दिइँदै आएको अनुदानमा यो पटक पनि नेताकै आसेपासेको नाम छनौट गरिएको कृषक बलराम रिषिदेवको आरोप छ ।

कृषि ज्ञान केन्द्रले कृषकहरूका लागि वैशाख २८ गते परिपत्र गर्दै अनुदानमा छनोट भएका कृषकहरूलाई सम्झौताका लागि आह्वान गरेको थियो । अनुदान सम्झौताका लागि छनोट भएकाहरूको सूची हेरेपछि यो विषय चर्चामा आएको हो । केन्द्रले सनपाट खेतीका लागी रङ्गेली नगरपालिका वडा नं ९ धन जुवाका श्री प्रसाद राजवंशी लाई ५० हजार अनुदान दिने सिफारिस गरेको छ । जबकि श्री प्रसादले अहिलेसम्म कुनै सनपाट खेती नै गरेकै छैनन् ।

त्यस्तै सोही ठाउँको चामुण्डा कृषि समूहले ६ सय कट्टा खेती गरेको देखाउँदै १ लाख रुपैयाँ अनुदानको सिफारिसमा परेको छ । तर समूहले त्यति क्षेत्रफलमा खेती नै नगरेको स्थानीय कृषकको दाबी छ ।

पालिकाले भने ज्ञान केन्द्रले आफूहरूलाई कुनै जानकारी नगराई अनुदानको रकम वितरण गरेको दाबी गरेको छ ।

ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले भने आफूहरूले अनुदानमा सही कृषकहरूलाई मात्र कार्यालयबाट निरीक्षण गरेर अनुदानको रकम निकासा गर्ने गरे । रंगेलीमा मात्र होइन अन्य क्षेत्रमा पनि अनुदानको रकम वास्तविक कृषकसम्म नपुग्ने गरेको गुनासो आउने गरेको छ । यसतर्फ राज्यले ध्यान दिन जरुरी छ ।