
सुनसरी- शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।
सांसद चौधरीले बर्जु वडा नं.४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । न्यायो लुगा वितरण कार्यक्रममा बोल्दै चौधरीले समाज रुपान्तरण र समाजमा ब्याप्त गरिबी, असमानता र विभेद गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताइन् । उनले तराईका जनता शितलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको बताइन् ।

सुनसरी क्षेत्र नं. ३ को विकासमा आफु सदैव लागि पर्ने बताउँदै बर्जु, गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा आफुले पहल गरिरहेको पनि बताइन् । केही समय अगाडी सो क्षेत्रका भूमिहिन नागरिकलाई घर बनाईदिन चुची फाउण्डेशनले स्थलगत अध्ययन गरेकोमा बर्जु र गढी गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको समेत चौधरीले बताइन् ।
सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरुको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरुमा भए गरेका कार्य प्रगतिको आफुले अनुगमन र मुल्यांकन गरिरहेको पनि जनाइन् । साथै, उनले उक्त योजना र विकास निर्माणका कार्यहरूमा कुनैपनि ढिलाइ हुन नहुने जिकीर गरिन् ।

सांसद चौधरीसँगै प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । चौधरीले यसअघि इटहरी उपमहानगरपालिका वडा नं। ८ हरिजनवस्ती, सोनापुरको मुसहरवस्तीमा पनि न्यानो कपडा वितरण गरेकी थिइन् ।