images

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाँचौँ पटक विश्वासको मत लिँदै 

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिदैं छन् ।  मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना भने न्यून रहेको छ ।  केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मतका लिन आगेका हुन् । मुख्यमन्त्री यादवले दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरद्वारा जानकारी दिए ।
साथै मङ्गलवार मात्रै नेकपा एकीकृत समाजवादी पार्टीले समेत समर्थन फिर्ता लिएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवलाई नेपाली काँग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र काँग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन् ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेका सभामुखबाहेक २४, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यहाँ सरकार गठनका लागि सत्ता गठबन्धनसँग एक सिट अपुग हुन्छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टीका ८ सांसद छन्। तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन। त्यसैगरी मधेस प्रदेश सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक प्रदेश सांसद छन् । उनीहरूले पनि कता मतदान गर्छन् हालसम्म निर्णय गरेका छैनन् ।