
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताएका हुन् । उनले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे ।
फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै अध्यक्ष प्रचण्डले एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा व्यक्त गरे ।
अध्यक्ष दाहालले माओवादी केन्द्रलाई ‘कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो’ भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताए । उनले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गरे ।
नेपाली कांग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको उनले बताए । नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको भन्दै अध्यक्ष प्रचण्डले आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै अध्यक्ष प्रचण्डले उक्त दुस्साहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको बताएका छन् ।